ख्रीष्टाब्द
१९६१ को जुन
महिनामा एउटा शिलालेख
फेला पारियो जसले
नयाँ करारको एउटा
महत्त्वपूर्ण पात्रको पुष्टि गर्छ
। तिनको नाउँ
हो— पन्तियस पिलातस
जसले येशूलाई क्रूसमा
टाँग्ने आज्ञा दिए ।
यस आविष्कारले पिलातसको
अस्तित्वलाई आशङ्का गर्नै नसक्ने
गरी पुष्टि गरिदिएको
छ ।
इटालीका
पुरातत्त्वविद् डा. एन्टोनिओ
फ्रोभाको नेतृत्वमा गएको टोलीले
कैसरिया मरितिमा नामक प्राचीन
सहरमा ८२ सेन्टिमिटर
लमाइ र ६५
सेन्टिमिटर चौडाइ भएको एउटा
कुने–ढुङ्गो फेला
पारे जसमा लेखिएको
ल्याटिन भाषालाई नेपालीमा अनुवाद
गर्दा यस्तो हुन्छ,
“यहूदियाका हाकिम पन्तियस पिलातसले
तिबेरिअसको नाउँमा [यसलाई] अर्पण गरेका
छन् ।” उचित
तवरले “पिलातसको शिलालेख” नाउँ
दिइएको यस कुने–ढुङ्गोले पिलातससाथै तिबेरिअस
दुवैको अस्तित्वलाई प्रमाणित गर्छन्
। हेरोद महान्द्वारा
निर्मित प्राचीन रङ्गशालाको उत्खनन
गर्दा यो महत्त्वपूर्ण
प्राचीन शिलालेख फेला पारिएको
हो ।
यो
शिलालेख हाल यरूशलेमस्थित
इजराएल
सङ्ग्रहालयमा सुरक्षितसाथ
राखिएको छ ।
उत्खनन क्षेत्रमा यसको नक्कललाई
भने अहिले पनि
देख्न सकिन्छ ।
पन्तियस
पिलातसले कैसरियामा एउटा मन्दिर
निर्माण गरेका थिए जुन
तिनले रोमी सम्राट्
तिबेरिअस (ख्रीष्टाब्द १४–३७
ख्रीष्टपूर्व) को नाउँमा
अर्पण गरेका थिए
। यो शिलालेख
यसैको बारेमा लेखिएको
हो । यसलाई
ख्रीष्टाब्द २६–३७
को बिचमा तयार
पारिएको देखिन्छ ।
येशूको
जाँचपडतालको सम्बन्धमा सुसमाचारिय विवरणहरूलाई
पढ्नेहरूले पन्तियस पिलातसको नाउँलाई
बिर्सन सक्दैनन् । चार
ओटै सुसमाचारले तिनको
उल्लेख गरेका छन् (मत्ती
२७:११–३१;
मर्कूस १५:१–१५; लूका
२३:२–३;
१८–२५; यूहन्ना
१८:२८–४०;
१९:१–६)
।
सुसमाचारिय
विवरणमुताबिक येशूको गिरफ्तारपछि यहूदी
अधिकारीहरूले येशूलाई पन्तियस पिलातसकहाँ
ल्याए, “सबै सभासद्हरू
उठे, र उहाँलाई
पिलातसकहाँ ल्याए । तिनीहरूले
उहाँमाथि यसो भन्ने
दोष लगाउन लागे,
‘यस मानिसले हाम्रो
राष्ट्रलाई बहकाउन लागेको हामीले
भेट्टायौं । यसले
कैसरलाई कर तिर्नदेखि
हामीलाई रोक्छ, आफैलाई चाहिँ
‘म ख्रीष्ट, एक
राजा हुँ’ भनी
भन्छ’” (लूका २३:१–२)
।
पिलातसको
सामु येशूको विरुद्धमा
लगाइएका मुख्य अभियोगहरू धार्मिक
नभएर राजनीतिक थिए
। रोम र
कैसरको अधिकारको लागि येशू
बाधक हुनुभएको थियो
भन्ने आरोप लगाइयो
। येशूले राष्ट्रलाई
बहकाउनुहुन्छ; करको विरोध
गर्नुहुन्छ र आफू
राजा हुँ भनी
दाबी गर्नुहुन्छ भन्ने
यहूदी अधिकारीहरूको आरोप
झुटा थिए किनकि
राजनीतिक अर्थमा उहाँले राजाको
पदवी ग्रहण गर्न
चाहनुभएन न त
उहाँले करको विरोध
नै गर्नुभयो ।
निश्चय नै, धार्मिक
विषयहरूमा येशूले धार्मिक अगुवाहरूको
खुलेरै आलोचना गर्नुभयो तर
राजनीतिक विषयबारे भने होइन
। यी तिन
ओटै अभियोगहरूमा पिलातसको
निष्कर्ष थियो, “म यिनमा
केही दोष भेट्टाउँदिनँ”
(यूहन्ना १८:३८)
। येशू निर्दोष
हुनुभएकोले पिलातसले उहाँलाई छाडिदिन
कोसिस गरे तापनि
क्रूद्ध भिडको कारणले गर्दा
केही उपाय नलागेपछि
“उनले उहाँलाई क्रूसमा
टाँग्न तिनीहरूका हातमा सुम्पिदिए”
(यूहन्ना १९:१६)
।
इतिहासअनुसार
पिलातस ख्रीष्टाब्द २६–३६
सम्म यहूदियाका हाकिम
भएका थिए ।
तिनी यहूदियाका पाँचौँ
हाकिम थिए ।
यहूदियाको रोमी राजधानी
कैसरिया मरितिमामा तिनले आफ्नो
कार्यालय बनाएका थिए ।
तिनकै समयमा येशू
क्रूसमा टाँगिनुभएको थियो ।
नयाँ
करारका अतिरिक्त यहूदी लेखकद्वय
योसिफस र फाइलोसाथै
रोमी लेखक टासिटसका
रचनाहरूमा पिलातसका सन्दर्भहरू उल्लेख
भए तापनि वर्षौंसम्म
आलोचकहरूले पिलातसको साँचो अस्तित्वमाथि
नै प्रश्न गर्दै
आएका थिए ।
तर बिसौँ शताब्दीको
उत्तराद्र्धमा फेला पारिएको
यस आविष्कारले बाइबलका
आलोचकहरूलाई स्तब्ध पारेका छन्
। फेरि एक
पटक येशूको बारेमा
भएको सुसमाचारिय विवरण
साँचो ठहरिएको छ
भने आलोचकहरू झुटा
।